गृहमन्त्रीको अभिव्यक्तिमा विवाद, सामाजिक सञ्जालमा चर्कियो बहस
काठमाडौं — गृहमन्त्री सुधन गुरुङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको छ। सम्पत्ति विवरणबारे आलोचना गर्नेहरूलाई लक्षित गर्दै उनले इन्स्टाग्राम स्टोरीमार्फत दिएको भनाइ सार्वजनिक भएपछि त्यसको व्यापक आलोचना भएको हो।
मन्त्री गुरुङले “जन्मिँदै गरिब हुनु गल्ती होइन, तर गरिब भएर मर्नु गल्ती हो” भन्ने अभिव्यक्ति दिएका थिए। साथै, सरकारमा आउनुअघि इमान्दारीपूर्वक कमाउनु पाप नभएको तर सत्तामा पुगेपछि भ्रष्टाचार गर्नु पाप हुने उल्लेख गरेका थिए। आलोचना बढ्दै गएपछि उक्त स्टोरी हटाइएको छ।
यसबीच जेन–जी अभियन्ता रक्षा बम ले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीको भनाइको कडा प्रतिवाद गरेकी छन्। उनले गरिबीलाई व्यक्तिको गल्ती ठान्ने दृष्टिकोणप्रति आपत्ति जनाउँदै राज्यले सबै नागरिकलाई समान अवसर उपलब्ध गराउन नसकेको यथार्थ औंल्याएकी छन्।
उनले देशका २० प्रतिशतभन्दा बढी नागरिक गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै आर्थिक अवस्थाका आधारमा नागरिकलाई ‘गलत’ भन्नु पदीय मर्यादाविपरीत हुने बताएकी छन्। “आज गरिब भएर मर्नु गल्ती हो भनियो भने भोलि गरिब हुनु नै अपराध ठहरिन सक्छ,” उनले चेतावनी दिएकी छन्।
मन्त्री गुरुङको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा सरकारको दृष्टिकोण र आम नागरिकको आर्थिक यथार्थबीचको दूरीबारे बहस तीव्र बनेको छ।