युद्धविरामकै बीच दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण जारी
युद्धविरामका बाबजुद दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमण जारी रहेको छ।
खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरलाई लक्षित गरी आक्रमण भएको जनाइएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार खियामस्थित अल जल्लाहिया क्षेत्रमा शक्तिशाली विस्फोट गराइएको थियो।
आक्रमणका क्रममा बेइट लाइफमा घरहरू ध्वस्त भएका छन्। लेबनानको विपद् जोखिम व्यवस्थापन विभागका अनुसार हालसम्म दुई हजार ४५४ जनाको मृत्यु र सात हजार ६५८ जना घाइते भएका छन्।
यसैबीच, आक्रमणका कारण ३० हजारभन्दा बढी परिवारका एक लाखभन्दा बढी मानिस विस्थापित भई आश्रयमा बस्न बाध्य भएका छन्।