दक्षिण कोरियामा चिडियाखानाबाट भागेको ब्वाँसो नियन्त्रणबाहिर, विद्यालयहरू बन्द
दक्षिण कोरियाको डेजिओनमा चिडियाखानाबाट भागेको करिब ३० किलोग्राम तौलको नर ब्वाँसो अझै नियन्त्रणमा नपरेको हुँदा स्थानीय सुरक्षा अधिकारीहरूले सतर्कता बढाएका छन् र नजिकैको डेजिओन सान्सियोङ प्राथमिक विद्यालय बन्द गरिएको छ।
बुधबार डेजिओनस्थित थिम पार्कको चिडियाखानाबाट भागेको ब्वाँसोको खोजीका लागि ३०० भन्दा बढी सुरक्षाकर्मी, प्रहरी तथा अग्निनियन्त्रक परिचालित छन्। प्रारम्भिक अनुसन्धान अनुसार ब्वाँसोले जमिन खनेर पर्खाल कमजोर बनाउँदै भाग्न सफल भएको देखिएको छ।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको तस्बिरमा ब्वाँसो सडक क्षेत्रमा स्वतन्त्र रूपमा घुमिरहेको देखिएको छ। अधिकारीहरूले जनसुरक्षालाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन्।
सन् २०२३ मा सियोलकै एक चिडियाखानाबाट भागेको जेब्रा ‘सेरो’ जस्तै, ब्वाँसो पनि जीवितै सुरक्षित नियन्त्रणमा ल्याउने लक्ष्यसहित खोजी अभियान जारी रहेको छ।