युक्रेनी आक्रमणपछि रूसको तुआप्से तेल प्रशोधन केन्द्रमा भीषण आगलागी, वायु प्रदूषण बढ्यो
युक्रेनको आक्रमणपछि रूसको दक्षिणी तटीय शहर तुआप्सेस्थित तेल प्रशोधन केन्द्रमा ठूलो आगलागी हुँदा वायु प्रदूषण बढेको र स्थानीय बासिन्दालाई घरभित्रै बस्न निर्देशन दिइएको छ।
रूसी अधिकारीका अनुसार सोमबार युक्रेनले ब्ल्याक सी क्षेत्रअन्तर्गत पर्ने तुआप्से तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि चारवटा भण्डारण ट्याङ्कीमा आगलागी भएको हो। आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जनाइएको छ।
आगलागीपछि शहरको आकाशमा बाक्लो कालो धुवाँ फैलिएको छ भने बुधबार विषाक्त कणहरूको प्रभावका कारण वायु प्रदूषण सामान्यभन्दा दुईदेखि तीन गुणासम्म बढेको अधिकारीहरूले बताएका छन्। त्यसको असरस्वरूप केही क्षेत्रमा ‘विषाक्त वर्षा’ जस्तो अवस्था देखिएको जनाइएको छ।
स्थानीय बासिन्दाले सामाजिक सञ्जालमा राखेका तस्बिर तथा भिडियोमा शहरमाथि कालो धुवाँको बादल मडारिएको, समुद्री तटमा तेल फैलिएको तथा मरेका माछा र चराचुरुङ्गी देखिएको उल्लेख गरिएको छ। छाडा जनावरहरूको शरीर कालो अवशेषले ढाकिएको र सवारी साधनहरूमा कालो दाग जमेको दृश्यसमेत सार्वजनिक भएका छन्।
शहर प्रशासनले बासिन्दालाई झ्याल ढोका बन्द गर्न, अनावश्यक बाहिरी गतिविधि नगर्न र बाहिर निस्कँदा मास्क प्रयोग गर्न आग्रह गरेको छ।
ब्ल्याक सी किनारमा अवस्थित तुआप्से शहर पर्यटकका लागि लोकप्रिय गन्तव्य मानिन्छ। पछिल्ला हप्ताहरूमा युक्रेनले रूसको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएको छ, जसलाई रूसको सैन्य खर्चको प्रमुख स्रोतका रूपमा हेरिन्छ।