सुदूरपश्चिम प्रदेशसभामा दुई विधेयक समितिमा पठाइयो, सदस्य हेरफेर प्रस्ताव स्वीकृत
सुदूरपश्चिम प्रदेशसभा ले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाएको छ।
आज बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की ले उक्त विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सर्वसम्मतिले स्वीकृत गरिएको हो।
यसैगरी, ‘सुदूरपश्चिम प्रदेश जीवनाषक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई पनि दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ। मन्त्री सार्कीले प्रस्तुत गरेको उक्त प्रस्तावलाई पनि बैठकले सर्वसम्मतिले पारित गरेको छ।
त्यस्तै, प्रदेशसभाअन्तर्गतका दुई विषयगत समितिमा सदस्य हेरफेरसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरिएको छ। सभामुख भीमबहादुर भण्डारी ले निर्णयार्थ पेस गरेको प्रस्तावअनुसार सदस्य प्रकाशबहादुर देउवा लाई सार्वजनिक लेखा समितिबाट सामाजिक विकास समितिमा र खुशीराम डगौरा लाई सामाजिक विकास समितिबाट सार्वजनिक लेखा समितिमा हेरफेर गरिएको छ।