सप्तरी–२ मा सीके राउत पराजित, जनमत पार्टी शून्य सिटमा
काठमाडौं — मधेसवादी आन्दोलनबाट उदाएको जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। सप्तरी–२ बाट उम्मेदवारी दिएका राउत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामजी यादवसँग पराजित भएका हुन्।
निर्वाचनको अन्तिम मत परिणामअनुसार रामजी यादवले २८ हजार ४०४ मत प्राप्त गर्दै विजय हासिल गरे। जनता समाजवादी पार्टीका उमेश कुमार यादव १४ हजार २८३ मतसहित दोस्रो स्थानमा रहे भने सीके राउत ९८० मतसहित तेस्रो स्थानमा सीमित भए।
२०७९ सालको निर्वाचनमा मधेसका प्रभावशाली नेता उपेन्द्र यादवलाई हराएर चर्चामा आएका राउत यसपटक भने पराजित भएका छन्। यससँगै मधेसमा वैकल्पिक शक्तिको रूपमा उदाएको जनमत पार्टीले प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन।
निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टीले राउतलाई साथमा ल्याउने प्रयास गरेको थियो। तर उनले आफ्नै पार्टीलाई बलियो बनाउने भन्दै सो प्रस्ताव अस्वीकार गरेका थिए।
यसपटकको निर्वाचनमा जनमत पार्टीभित्रको आन्तरिक विवाद र विभाजन पनि राउतका लागि चुनौती बनेको देखिन्छ। पार्टी फुटाएर ‘स्वाभिमानी पार्टी’ गठन गरेका पूर्वसहकर्मी सतिशकुमार सिंहले समेत उनलाई प्रतिस्पर्धा दिएका थिए। साथै, स्वार्थका कारण भन्दै केही वरिष्ठ नेताहरूले निर्वाचनअघि नै जनमत पार्टी परित्याग गरेका थिए।
मधेसमा पृथकतावादी आन्दोलन चलाएका राउत मधेस स्वतन्त्रताको माग गर्दा २४ पटकसम्म पक्राउ परेका थिए। पछि २०७५ सालमा नेपाल सरकारसँग ११ बुँदे सहमति गर्दै संवैधानिक दायराभित्र रहेर शान्तिपूर्ण राजनीतिमा सहभागी भएका थिए।
२०७९ सालको निर्वाचनपछि आशलाग्दा युवा नेताका रूपमा उदाएका राउत संसदमा सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका थिए। तर यसपटकको निर्वाचन परिणामले उनको पार्टीको संसदीय यात्रा नै रोकिएको देखिएको छ।
विश्लेषकहरूका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहलाई मधेसी समुदायसँग जोडेर देशव्यापी रूपमा प्रधानमन्त्रीको सम्भावित दाबेदारका रूपमा प्रचार गरिएको प्रभाव पनि जनमत पार्टीको मतमा परेको हुनसक्छ।
२०७९ को निर्वाचनमा तीन प्रतिशतभन्दा बढी समानुपातिक मत ल्याउँदै राष्ट्रिय दल बनेको जनमत पार्टी यसपटक भने शून्य सिटमा झरेको छ। समानुपातिकतर्फ तीन प्रतिशत मत कटाए पनि राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने व्यवस्था छ। हालसम्मको मत परिणामअनुसार जनमत पार्टीले समानुपातिकतर्फ २४ हजार २५९ मत प्राप्त गरेको छ।
मधेस प्रदेश सरकारको नेतृत्वसमेत गरिसकेको जनमत पार्टीको कमजोर नतिजाले मधेसवादी दलहरूमाथि नै ठूलो धक्का लागेको विश्लेषण गरिएको छ।
यसपटक अन्य मधेसवादी दलहरूको अवस्था पनि कमजोर देखिएको छ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र प्रभु शाहको आम जनता पार्टीले पनि प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेका छैनन्। समानुपातिकमा केही मत आए पनि यी दलहरू राष्ट्रिय दल बन्ने सम्भावना कमजोर देखिएको छ।