प्रतिनिधिसभा निर्वाचनमा पूर्वअर्थमन्त्रीहरूलाई धक्का, वर्षमान पुन मात्र विजयी
काठमाडौं, फागुन २४ — जेन्जी आन्दोलनपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अधिकांश पूर्वअर्थमन्त्रीहरूले पराजय बेहोरेका छन्। दशकौँदेखि राज्यसत्तामा प्रभाव राख्दै आएका अनुभवी नेताहरू समेत मतदाताबाट अस्वीकृत भएका छन्।
यसपटकको निर्वाचनमा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावी मैदानमा उत्रिएका पूर्वअर्थमन्त्रीहरूमध्ये नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुन बाहेक सबैजना पराजित भएका छन्।
भ्रष्टाचार र गलत शासकीय अभ्यासप्रति नागरिक असन्तुष्टि बढ्दै जाँदा त्यसको असर निर्वाचन परिणाममा देखिएको विश्लेषण गरिएको छ। सोही कारण राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ठूलो सफलता हासिल गरेको छ।
एमालेका उपाध्यक्ष तथा पाँचपटक अर्थमन्त्री भइसकेका विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलसँग फराकिलो मतान्तरले पराजित भएका छन्। खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा पौडेलले १२ हजार ८६१ मत मात्र पाए।
पराजयपछि पौडेलले सामाजिक सञ्जालमार्फत विगतका कमजोरीको समीक्षा गर्ने र जनअपेक्षा अनुरूप आफूलाई रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस्तै पूर्वअर्थमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट पराजित भएका छन्। उनले १४ हजार ३४६ मत ल्याउँदै तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ। नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा २१ हजार ६०९ मतसहित विजयी भएका छन् भने नेपाली कांग्रेसका राजु केसी १६ हजार ६६१ मतसहित दोस्रो स्थानमा रहे।
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका दीपककुमार शाहसँग पछि परेका छन्। हालसम्म कार्कीले १३ हजार ३७८ मत पाउँदा शाहले ३५ हजार ३९८ मत प्राप्त गरेका छन्।
त्यस्तै कांग्रेसका वरिष्ठ नेता डा. प्रकाशशरण महत नुवाकोट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम तिमिल्सिनाभन्दा पछि परेका छन्। महतले १५ हजार १११ मत प्राप्त गर्दा तिमिल्सिनाले १८ हजार १४४ मतसहित अग्रता लिएका छन्।
यसपटक चुनाव लडेका पूर्वअर्थमन्त्रीहरूमध्ये वर्षमान पुन मात्र विजयी भएका छन्। उनले रोल्पाबाट २७ हजार ४६० मत प्राप्त गर्दै नेपाली कांग्रेसका सुदनकुमार वलीलाई हराएका हुन्। वलीले १२ हजार ८ मत प्राप्त गरेका छन्।
यसैगरी पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा पनि ललितपुर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनसँग पराजित भएका छन्। महर्जनले २३ हजार ३७३ मत प्राप्त गर्दा राणाले १३ हजार ५२० मत मात्र पाए।
पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराई, महेश आचार्य, डा. रामशरण महत, डा. प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा र कृष्णबहादुर महरा भने यसपटकको निर्वाचनमा उम्मेदवार बनेका थिएनन्।