इरानी आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु, पाँच गम्भीर घाइते
इरानविरुद्ध जारी सैन्य कारबाहीका क्रममा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। अमेरिकी केन्द्रीय कमाण्ड United States Central Command ले आइतबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।
सेनाका अनुसार इरानी हमलाका क्रममा तीन सैनिकको ज्यान गएको र पाँच जनाको अवस्था गम्भीर रहेको छ। यसबाहेक केही अन्य सैनिकहरू छर्रा लागेर सामान्य घाइते भएका जनाइएको छ। घाइतेहरूको उपचार क्षेत्रीय सैन्य अस्पतालमा भइरहेको बताइएको छ।
अमेरिका र Israel ले Iran माथि संयुक्त आक्रमण सुरु गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव तीव्र बनेको छ। इरानले पनि निरन्तर जवाफी हमला गरिरहेको जनाएको छ। यही क्रममा इरानी आक्रमणमा अमेरिकी सैनिकहरू हताहत भएको पुष्टि भएको हो।
अमेरिकी सेनाले इरानविरुद्ध सञ्चालन गरिएको ‘अपरेशन एपिक फ्युरी’ अभियानका दौरान उक्त क्षति भएको जनाएको छ। संयुक्त आक्रमणपछि सुरु भएको द्वन्द्वमा पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको बताइएको छ।
यस घटनापछि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्ने संकेत देखिएको छ भने अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरेका छन्।