तनहुँमा ६ हजारभन्दा बढी मत बदर
दमौली, २४ फागुन — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँ जिल्लामा ६ हजारभन्दा बढी मत बदर भएको छ। जिल्लाका दुई निर्वाचन क्षेत्र गरी कुल ६ हजार २५२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार तनहुँ क्षेत्र नम्बर १ मा २ हजार ७३० र क्षेत्र नम्बर २ मा ३ हजार ५२२ मत बदर भएको हो।
मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिए पनि बदर मतको संख्या घट्न नसकेको निर्वाचन कार्यालयले जनाएको छ। सबै वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा दिइए पनि मतपत्रमा त्रुटि गर्ने क्रम भने रोकिएको छैन।
क्षेत्र नम्बर १ मा एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १४९ मत खसेको थियो। त्यसमध्ये ६५ हजार ४१९ मत मात्र सदर भएको छ।
यस्तै क्षेत्र नम्बर २ मा ६६ हजार १०० मत खसेकामा ६२ हजार ५७९ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र मतपेटिकामा हाल्ने जस्ता कारणले मत बदर भएको जिल्ला निर्वाचन अधिकारी लम्सालले बताए।