नायुँ र घनपोखरा होमस्टे पर्यटकको आकर्षण बन्दै
लमजुङको मर्स्याङ्दी गाउँपालिका–१ स्थित नायुँ र घनपोखरा होमस्टे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। विसं २०७२ को भूकम्पबाट क्षति पुगेको घनपोखराको गुरुङ बस्ती पुनर्निर्माण गरी विसं २०७६ सालदेखि होमस्टे सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ्न थालेको हो।
सार्क राष्ट्रकै नमूना गाउँका रूपमा परिचित घलेगाउँबाट करिब दुई किलोमिटर दूरीमा रहेको नायुँ र त्यसभन्दा माथि अवस्थित घनपोखरा अहिले घुमफिरका लागि लोकप्रिय गन्तव्य बन्न थालेका छन्। यहाँबाट मनास्लु, ङादीचुली, अन्नपूर्ण र अन्नपूर्ण चौथोलगायत दर्जनभन्दा बढी हिमशृङ्खला अवलोकन गर्न सकिन्छ।
लमजुङ मध्यनेपाल नगरपालिका–१ जिताबाट घनपोखरा पुगेका सुमन घिमिरेले यहाँको आतिथ्यता र हिमाली दृश्यावलोकनले आफू निकै प्रभावित भएको बताए। उनका अनुसार यहाँको स्वच्छ हावापानी, शान्त वातावरण र रमणीय दृश्यले पर्यटकलाई आकर्षित गरिरहेको छ।
नायुँ र घनपोखरा आउने पाहुनालाई स्थानीय घरबास सञ्चालकले गाउँमै उत्पादन हुने धान, मकै, कोदो, भटमास, साग, सिस्नो, कुरिलो, टुसा तथा स्थानीय कुखुरा, खसीबोका र भेडाको मासुबाट तयार गरिएका परिकार पस्कने गरेका छन्। पर्यटकलाई स्थानीय कला र संस्कृति झल्काउने रोधी कार्यक्रमसमेत आयोजना गरिन्छ। स्वागत, सम्मान र बिदाइका क्रममा सेतो टीका, फूलमाला, गुच्छा र खादाबाट अतिथिलाई सम्मान गर्ने परम्परा यहाँ कायम छ।
यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै हिमाल, मर्स्याङ्दी नदी किनाराका फाँट तथा मिदिम नदीको दृश्यले पर्यटकलाई अझै आकर्षित बनाएको छ।
समुद्री सतहबाट दुई हजार १५० मिटर उचाइमा रहेको घनपोखरामा गुरुङ समुदायका ६५ घर रहेका छन्, जसमध्ये ११ घरमा होमस्टे सञ्चालन गरिएको छ। गाउँमा परम्परागत घुमाउने घरको मौलिकता जोगाइँदै गुरुङ समुदायको कला, संस्कृति र इतिहास झल्काउने उद्देश्यले गुरुङ सङ्ग्रहालयसमेत स्थापना गरिएको छ।
नायुँ र घनपोखरामा एक रातमै करिब १०० पाहुनालाई बस्ने व्यवस्था मिलाउन सकिने होमस्टे सञ्चालक कालीमाया गुरुङले बताइन्। उनका अनुसार महिनामा करिब ४०० देखि ५०० पर्यटक आउने गरेका छन् भने शुक्रबार र शनिबार पर्यटकको संख्या बढी हुन्छ।
होमस्टेमा आउने पाहुनालाई स्वागतस्वरूप ‘वेलकम ड्रिङ्क्स’, चिया वा कफी प्रदान गरिन्छ। राति स्थानीय स्तरमा उत्पादन गरिएको अर्गानिक खाना र बिहानको खाजा उपलब्ध गराइने व्यवस्था छ। यहाँ खाजा, रातिको खाना, बिहानको खाजा र बसाइँसहित प्रतिव्यक्ति करिब एक हजार २५० रुपैयाँ शुल्क लाग्ने गरेको छ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले नायुँ र घनपोखराको पर्यटन विकासका लागि गाउँपालिकाले विभिन्न योजना बनाएर काम गरिरहेको बताए। उनले होमस्टेलाई व्यवस्थित बनाउन स्थानीय उत्पादनमा आधारित खानालाई प्रोत्साहन गरिएको जानकारी दिए। साथै होमस्टे सञ्चालकलाई कुकिङ तालिम, होमस्टे सञ्चालन तालिम तथा विभिन्न गोष्ठीमार्फत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।
घनपोखरा र नायुँमा चैत–वैशाखमा फुल्ने लालीगुराँस, पाक्ने काफल र ऐँसेलुले पनि पर्यटकलाई आकर्षित गर्ने गरेका छन्। ग्रामीण जीवनशैलीलाई जीवन्त राख्दै यी गाउँहरू पर्यटनको नयाँ केन्द्रका रूपमा विकास हुँदै गइरहेका छन्।
घनपोखरा लमजुङको सदरमुकाम बेँसीसहरबाट करिब २७ किलोमिटर दूरीमा पर्छ। यहाँ पुग्न ठूलो बसमा करिब ३५० रुपैयाँ र जिपमा करिब ४५० रुपैयाँ भाडा लाग्ने गरेको छ। पछिल्लो समय बेँसीसहर, काठमाडौँ र पोखराबाट घनपोखरा तथा नायुँ पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ।