इरानको नयाँ सर्वोच्च नेता चयन नहुँदासम्म तीन सदस्यीय नेतृत्व परिषद गठन
नयाँ सर्वोच्च नेता चयन नभएसम्म इरानको शासन सञ्चालन गर्न गठित तीन सदस्यीय नेतृत्व परिषदमा ६६ वर्षीय धर्मगुरु नियुक्त भएका छन् । यस परिषदमा आयातोल्लाह अली रेजा अराफीलाई तेस्रो सदस्यका रूपमा चयन गरिएको हो ।
अराफी यसअघि नै इरानको शक्तिशाली संवैधानिक निकाय ‘गार्जियन काउन्सिल’ र अर्को सर्वोच्च नेता छान्ने अधिकार भएको ‘एसेम्बली अफ एक्सपर्ट्स’ को सदस्य रहिसकेका छन् ।
दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले नै सन् २०१९ मा अराफीलाई गार्जियन काउन्सिलको सदस्यमा मनोनयन गरेका थिए ।
अब यो नेतृत्व परिषदमा अराफीसँगै राष्ट्रपति मसुद पेजेस्कियान र न्यायपालिका प्रमुख गुलाम हुसेन मोहसेनी एजेई रहेका छन् । नयाँ सर्वोच्च नेताको टुङ्गो नलागुञ्जेल यही परिषद्ले इरानको राजकीय मामिलाहरू सम्हाल्नेछ ।