कास्कीमा प्रतिनिधिसभा निर्वाचनको तयारी पूर्ण
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाका ३६५ मतदान केन्द्रमा निर्वाचन सामग्री पूर्ण रूपमा पुगेको छ। प्रदेश निर्वाचन कार्यालय पोखराले सोमबार सबै केन्द्रका लागि मतपत्रसहितका सामग्री पठाइसकेको जनाएको छ।
निर्वाचन सामग्री मतदान केन्द्रमा पुगिसकेको र मतदान अधिकृत तथा सहायक मतदान अधिकृतले बुझिसकेको प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले बताए। उनले भन्नुभयो, “कास्कीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएर मतदान गर्न मात्र बाँकी छ। जिल्लामा शान्ति र सुरक्षा राम्रो छ, मतपत्र ढुवानीदेखि मतगणनासम्म तयारी सम्पन्न छ।”
पोखरा–३२ स्थित चन्द्रज्योति आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत गुणराज अधिकारीले पनि आफ्नो केन्द्रमा सम्पूर्ण सामग्री आइपुगेको र निर्वाचनमा उच्च मनोबलका साथ जुटेको जानकारी दिनुभयो। मतदान केन्द्रमा सूचना टाँस्ने, सर्वदलीय बैठक गर्ने र अन्य तयारी कार्य मङ्गलबार–बुधबार गरिनेछ।
कास्कीमा १५३ मतदानस्थल र ३६३ नियमित मतदान केन्द्र सहित दुई अस्थायी मतदान केन्द्र गरी ३६५ मतदान केन्द्र छन्। यी केन्द्रमा कुल २,१९० कर्मचारी खटिनेछन्। प्रत्येक मतदान केन्द्रमा तीन जना स्वयंसेवक नियुक्त गर्न सकिने व्यवस्था छ।
जिल्लामा ४९ उम्मेदवार प्रतिस्पर्धामा छन् भने कुल मतदाता संख्या ३,०८,५७२ रहेको छ। यसमा अस्थायी मतदाता २,८६१, महिला ७२० र पुरुष २,१४१ रहेका छन्। कारागारका कैदीबन्दी र मतदानमा नखटिने कर्मचारीका लागि पनि छुट्टै मतदान व्यवस्था गरिएको छ।