प्रतिनिधिसभा समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण सुरु
काठमाडौं, ५ चैत – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई निर्वाचन आयोगले प्रमाणपत्र वितरण सुरु गरेको छ।
निर्वाचन आयोगमा आयोजित कार्यक्रममा विभिन्न दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिइएको हो। आयोगले गत सोमबार नै ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो। सूची अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७, नेपाली कांग्रेस बाट २०, नेकपा एमाले बाट १६, नेपाली कम्युनिष्ट पार्टी बाट ९, र श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रत्येक चार/चार सांसद निर्वाचित भएका छन्।
निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेपछि आजै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को परिणामसहित समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाउने तयारी गरेको छ। राष्ट्रपति समक्ष प्रतिवेदन पेश भएपछि नेपालको संविधान, २०७२ को धारा ७६(१) अनुसार नयाँ सरकार गठनका लागि बाटो खुल्नेछ।