१० दिने शिशु बोकेर मतदान गर्न पुगिन् रञ्जु दर्शना
काठमाडौं — देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान जारी रहँदा काठमाडौंमा एक प्रेरणादायी दृश्य देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना १० दिने शिशु बोकेरै मतदान गर्न मतदान केन्द्र पुगेकी छन्।
चुनावी प्रचारप्रसारकै क्रममा फागुन २१ गते काठमाडौंस्थित निजामती अस्पतालमा उनले छोरालाई जन्म दिएकी थिइन्। प्रसूति भएको १० दिनमै उनी शिशुसहित मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेकी हुन्।
रञ्जु दर्शनाले काठमाडौं महानगरपालिका वडा नम्बर ३ स्थित मतदान केन्द्रबाट मतदान गरेकी छन्। उनी काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छिन्।
काठमाडौं–१ मा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रसहित अन्य उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेकी छन्।
नवजात शिशुसहित मतदानमा सहभागी भएको उनको उपस्थिति लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्धता र नागरिक कर्तव्यप्रतिको समर्पणको उदाहरणका रूपमा हेरिएको छ।