जेन-जी आन्दोलनको प्रतिवेदन सरकारमा बुझियो, कारबाहीको सिफारिस सहित
काठमाडौं। गत भदौ २३–२४ गते भएको जेन-जी आन्दोलनमा भएको हताहती र विध्वंशबारे जाँच गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ।
आयोगका सदस्य पूर्वडीआईजी विज्ञानराज शर्माका अनुसार प्रतिवेदनको मूल अंश करिब ९ सय पृष्ठको रहेको छ। आयोगको टोलीमा अध्यक्ष कार्की, शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारी रहेका थिए।
शर्माले बताएअनुसार आयोगले आन्दोलनका क्रममा भएको घटनाका विवरण अध्ययन गरी राय र सुझाव प्रतिवेदनमा समावेश गरेको छ। जसले गल्ती गरे, उसलाई कारबाही गर्न सिफारिस गरिएको छ।
‘आन्दोलनका क्रममा सुरक्षा लापरबाही भएको, संसद् भवन परिसरमा ब्यारिकेडमा कमजोरी देखिएको छ,’ उनले भने। आयोगले करिब २ सयभन्दा बढी व्यक्तिका बयान र विज्ञहरूसँग राय लिएर प्रतिवेदन तयार पारेको छ।
उनले प्रतिवेदन मल्लिक आयोग र रायमाझी आयोग जस्तो नहुने, कारबाही कार्यान्वयन हुने र सिफारिस कार्यान्वयन गरिने पनि बताए।