दाङ–२ मा रास्वपाका विपीन आचार्यको अग्रता कायम
दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर २ मा **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**का उम्मेदवार विपीन आचार्यले अग्रता कायम राखेका छन्।
घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ११ हजार ६०९ मत गणना हुँदा आचार्यले ५ हजार ९७४ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्।
उनका निकटतम प्रतिस्पर्धी **नेकपा (एमाले)**का शङ्कर पोख्रेलले २ हजार ४९४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले १ हजार ६०० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दाङ निर्वाचन क्षेत्र नम्बर २ मा कुल १ लाख ४० हजार ९६५ मतदाता रहेका थिए। तीमध्ये ८२ हजार ६२६ मत खसेको थियो।
उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै बाँकी रहेको छ।