इनिशा विकलाई न्यायको माग गर्दै स्ववियु पद्यकन्याको प्रदर्शन
बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी इनिशा विकका लागि न्यायको माग गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पद्मकन्या बहुमुखी क्याम्पसले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ।
स्ववियु सभापति भूपी ऐरको नेतृत्वमा विद्यार्थीहरूले जुलुससहित माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले ‘अत्याचार बन्द गर’, ‘बलात्कारीलाई कडा कारबाही गर’, ‘नारीको सम्मान गर’ लगायतका नारा लगाएका थिए।
कर्णालीकी एक दलित छोरीमाथि चार जनाले मिलेर बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएको घटनालाई एक साता बितिसक्दा पनि न्याय नपाएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।
अन्यायविरुद्ध आवाज उठाउन, सरकार र सम्बन्धित निकायलाई झकझक्याउन तथा जातीय विभेदको अन्त्यको माग गर्न प्रदर्शन गरिएको स्ववियु सभापति ऐरले बताइन्। ‘न्यायका लागि, समानताका लागि र मानवताका लागि एक छोरीका लागि हजारौँ छोरीहरू उभिनेछन्,’ उनले भनिन्।
केही दिनअघि समकक्षी विद्यार्थीहरूबाट बलात्कारपछि इनिशाको हत्या भएको आरोप लगाइएको छ। जबर्जस्ती सामूहिक करणीमा परेको भन्दै परिवारले उनको शव बुझ्न अस्वीकार गरेको छ। घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन सुरु गरेको छ।