मध्यपूर्व युद्धको प्रभाव: ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु
मध्यपूर्व (पश्चिम एसिया) मा जारी द्वन्द्वका कारण खाडी मुलुकहरूबाट भारत फर्किनेहरूको संख्या तीव्र रूपमा बढेको छ। भारतीय विदेश मन्त्रालय का अनुसार गत फेब्रुअरी २८ यता करिब ३ लाख भारतीय नागरिक स्वदेश फर्किएका छन्।
विदेश मन्त्रालयका अतिरिक्त सचिव (गल्फ) असीम आर महाजन ले संयुक्त अरब इमिरेट्सबाट मात्र शुक्रबार करिब ९० वटा उडान सञ्चालन भइरहेको जानकारी दिएका छन्। उनका अनुसार ओमान र साउदी अरेबिया बाट पनि नियमित उडान जारी छन्।
यसैबीच कतार को आकाशीय मार्ग आंशिक रूपमा खुल्न थालेपछि केही उडान पुनः सञ्चालनमा आएका छन्। तर कुवेत र बहराइन को एयरस्पेस अझै बन्द रहेको छ। त्यहाँ अलपत्र परेका भारतीय नागरिकको उद्धारका लागि विशेष उडानको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
युद्धका कारण मानवीय क्षति पनि भएको छ। हालसम्म ६ जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको छ भने एकजना अझै बेपत्ता रहेका छन्।
विदेश मन्त्रालयका अनुसार इराक, साउदी अरेबिया, ओमान र संयुक्त अरब इमिरेट्सस्थित भारतीय दूतावासहरूले स्थानीय प्रशासनसँग समन्वय गर्दै बेपत्ता व्यक्तिको खोजी तथा मृतकहरूको शव स्वदेश ल्याउने प्रक्रिया अगाडि बढाइरहेका छन्।
सरकारले उद्धार तथा स्वदेश फिर्ता अभियानलाई निरन्तरता दिने जनाएको छ भने प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको बताइएको छ।