निर्वाचन आचारसंहिता लागू अवस्थामा नयाँ न्यायाधीश नियुक्ति नगर्न निर्वाचन आयोगको निर्देशन
निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा नयाँ न्यायाधीश नियुक्ति गर्न नमिल्ने भन्दै निर्वाचन आयोगले न्याय परिषद्लाई औपचारिक पत्र पठाएको छ ।न्याय परिषद् सचिवालयले गत साता न्यायाधीश नियुक्तिसम्बन्धी विषयमा परिषद्मा पत्राचार गरेपछि त्यसको जवाफस्वरूप निर्वाचन आयोगले आचारसंहिता उल्लंघन हुने उल्लेख गर्दै नियुक्ति प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो ।
आयोगका अनुसार ४ माघदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको र सो अवधिमा न्याय परिषद्बाट नयाँ न्यायाधीश नियुक्ति गर्न नमिल्ने निर्णय गरिएको छ ।
यसअघि केही साताअघि लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरू नियुक्त भइसकेका छन् भने उनीहरूको पदस्थापनाको प्रक्रिया जारी रहेको छ । तर, परीक्षा बाहेक ज्येष्ठताका आधारमा न्यायाधीश नियुक्त गर्न न्याय परिषद्ले निर्वाचन आयोगमा पत्राचार गरेको थियो ।
निर्वाचन आयोगले निर्वाचनको स्वच्छता र निष्पक्षता कायम राख्न आचारसंहिताको पूर्ण पालना आवश्यक रहेको स्पष्ट पारेको छ ।