रास्वपा नेता भट्टराई फेसबुकमा गोप्य कागजात सार्वजनिक गरेको आरोपमा पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखीराम भट्टराई पक्राउ परेका छन् । प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारसम्बन्धी कागजात सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।
बाणगंगा नगरपालिका–८ धनेषपुर निवासी भट्टराईले गत माघ २६ गते आफ्नो फेसबुक वालबाट ती कागजात सार्वजनिक गरेका थिए । सोही विषयमा उजुरी परेपछि मंगलबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार सामाजिक सञ्जालमार्फत विभिन्न सामग्री पोस्ट गरी घृणा र द्वेष फैलाउने तथा गोपनीयता भंग गरेको आरोपमा भट्टराईलाई नियन्त्रणमा लिइएको हो ।