सुदूरपश्चिम प्रदेशसभामा नेकपा संसदीय दल गठन
सुदूरपश्चिम प्रदेशसभामा साविकका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीबीच समायोजन भई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दल गठन गरिएको छ।
तीन दलका प्रदेशसभा सदस्यहरूको आज बसेको संयुक्त बैठकले दल एकीकरण गर्ने निर्णय गरेको हो। साबिक एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य माया पन्तले केन्द्रबाट निर्णय भई आएअनुसार आज एकीकरण कार्यान्वयन गरिएको जानकारी दिइन्। उनले भनिन्, “समायोजनबारे केन्द्रबाट निर्णय भएर आएको हो, सोहीबमोजिम आज कार्यान्वयन गरिएको हो।”
बैठकले साविक माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टलाई नै नेकपा संसदीय दलको नेताका रूपमा चयन गर्ने निर्णय गरेको छ। साथै, दल एकीकरणपछि नेकपाको विधान निर्माणका लागि विधान मस्यौदा समिति गठन गरिएको छ।
त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा साविक माओवादी केन्द्रका सभामुखबाहेक १० सदस्य, नागरिक उन्मुक्ति पार्टीका सात र एकीकृत समाजवादीका चार सदस्य रहेका छन्। एकीकृत समाजवादीका एक सदस्य भने हाल निलम्बनमा छन्।
प्रदेशसभामा सत्तापक्षतर्फ नेपाली कांग्रेसका १८ र नेकपा (एमाले) का ११ सदस्य छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक सदस्य छन्। स्वतन्त्र सदस्य डा. तारा जोशीले पदबाट राजीनामा दिएर डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्याशी बन्नुभएको छ।
यसैबीच, सुदूरपश्चिम प्रदेशसभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानअनुसार प्रदेश प्रमुखबाट अधिवेशन अन्त्य गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभाको बर्खे अधिवेशन बैठक गत जेठ ११ गते सुरु भएको थियो। जेन–जी आन्दोलनबाट उत्पन्न परिस्थितिपछि गत पुस १६ गते चालु अधिवेशनअन्तर्गत बैठक पुनः सुरु गरिएको थियो।