तीन महिनामा ९४ हजार अफगान परिवारहरू स्वदेश फर्किए, पुर्नएकीकरणमा चुनौतीहरू
काबुल, फागुन २३ – विगत तीन महिनामा इरान, टर्की र पाकिस्तानबाट ९४ हजार परिवारहरू स्वेच्छिक वा जबरजस्ती रूपमा अफगानिस्तान फर्किएको छ। टोलो न्यूजले अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयलाई उद्धृत गर्दै पुष्टि गरेको छ।
मन्त्रालयका अधिकारीहरूले फर्कने परिवारमध्ये ८८ हजारभन्दा बढी केवल पाकिस्तानबाट फर्केको जानकारी दिएका छन्। यसले अफगानिस्तानमा सीमापार फिर्तीको मात्रा र पुनःएकीकरण प्रणालीहरूमा दबाब बढाएको जनाइएको छ।
शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुत्तालिब हक्कानीले फर्केका आप्रवासीहरूका लागि अफगानिस्तानको इस्लामिक इमिरेट्सले खाद्यान्न, स्वास्थ्य सेवा, निःशुल्क सिम कार्ड र अन्य सहयोग प्रदान गरेको बताए।
संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (यूएनएचसीआर)का अनुसार, गत वर्ष लगभग १० लाख अफगान आप्रवासीहरू पाकिस्तानबाट स्वदेश फर्केका थिए। दैनिक औसत दुई हजार व्यक्ति अफगानिस्तानमा प्रवेश गरिरहेका छन्।
तर फिर्तीको गति बढ्दै गएसँगै आप्रवासी अधिकारकर्मीहरूले दीर्घकालीन पुर्नएकीकरणलाई प्राथमिकता दिन आग्रह गरेका छन्। नाजर नाजारीले आप्रवासीहरूका लागि रोजगारी, आवास, शिक्षा, स्वास्थ्य सेवा जस्ता आधारभूत सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने बताए।
अली रेजा करीमीले पनि चेतावनी दिँदै अफगान आप्रवासीहरूको निष्कासन चरणबद्ध र व्यवस्थित रूपमा हुनुपर्ने र मानवीय संकट रोक्न आवश्यक रहेको बताएका छन्।
यस्तै, पाकिस्तानबाट फर्केका केही आप्रवासीहरूले पाकिस्तानी प्रहरीले गरेको दुर्व्यवहार, उत्पीडन र नजरबन्दको अनुभव सुनाउँदै अफगान अधिकारीहरूलाई तत्काल हस्तक्षेप गर्न आह्वान गरेका छन्।
टोलो न्यूजले यूएनएचसीआरका प्रतिनिधिलाई उद्धृत गर्दै जनाएको छ कि सन् २०२३ डिसेम्बरदेखि ४८ लाखभन्दा बढी अफगान आप्रवासी घर फर्किसकेका छन्।