मतपत्र छपाइ अन्तिम चरणमा, आजै सकिने
४ फागुन, भक्तपुर — प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आज दिनभरमै बाँकी छपाइ सकिने जनाएको छ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फ छाप्न बाँकी रहेका पाँच लाख मतपत्र आजै छपाइ हुनेछ। ती मतपत्र बागमती प्रदेशका हुन्। प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख मतपत्र छाप्नुपर्नेमा आज ४० दिनमै कार्य सम्पन्न हुन लागेको उनले जानकारी दिए।
‘४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरेका थियौं, तर लक्ष्यभन्दा अघि नै काम सकिँदैछ,’ पौडेलले भने, ‘दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएका थियौं।’
आज छपाइ सकिएपछि मतपत्र प्याकिङ गरी बाँकी जिल्लामा ढुवानी गरिने जनाइएको छ। केन्द्रले छपाइ सम्पन्न गरेका १० लाख नमूना मतपत्र निर्वाचन आयोगले विभिन्न स्थानमा पुर्याइसकेको छ।
समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न भइसकेको र जिल्लातर्फ पठाउने काम जारी रहेको केन्द्रले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको र अन्य क्षेत्रमा पनि फागुन १२ गतेसम्म पुर्याउने लक्ष्यसहित काम भइरहेको पौडेलले बताए।