सल्यानका स्वतन्त्र उम्मेदवार ध्रुर्वराज बलीद्वारा २५ बुँदे प्रतिबद्धता सार्वजनिक: 'जय सल्यान' लाई साझा पहिचान बनाउने उद्घोष
सल्यान । आगामी निर्वाचनका लागि सल्यान जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार ध्रुर्वराज वलीले आफ्नो विस्तृत २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। “पूर्वको कदर, वर्तमानको सुधार, समृद्ध सल्यानको आधार” भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएका बलीले आफू केवल आश्वासन बाँड्ने नभई नीति निर्माण र ठोस पहलकदमी लिने सांसद बन्न चाहेको स्पष्ट पारेका छन्।
'जय सल्यान' लाई साझा ब्रान्ड बनाउने संकल्प
उम्मेदवार बलीले “जय सल्यान” लाई केवल चुनावी नारामा मात्र सीमित नराखी यसलाई सकारात्मक भावनाको पहिचानका रूपमा स्थापित गर्ने बताएका छन्। उनले निजी क्षेत्र, यातायातका साधन तथा विभिन्न सामाजिक अभियानमार्फत 'जय सल्यान' लाई जिल्लाको साझा चिन्ह र गौरवका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
पूर्वाधार र स्वास्थ्यमा आमूल सुधारको योजना
भौतिक पूर्वाधारलाई समृद्धिको मेरुदण्ड मान्दै बलीले गाउँ-गाउँसम्म व्यवस्थित सडक सञ्जाल विस्तार गर्ने लक्ष्य राखेका छन्। यसका लागि भौतिक पूर्वाधार मन्त्रालय र योजना आयोगसँग समन्वय गरी स्पष्ट कार्ययोजनासहित अघि बढ्ने उनको योजना छ। यस्तै, स्वास्थ्य क्षेत्रतर्फ जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा विशेषज्ञ सेवा विस्तार गर्ने, अपुग भौतिक संरचना निर्माण गर्ने र समग्र व्यवस्थापनमा सुधार ल्याई नागरिकलाई सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्ने उनले बताएका छन्।
पर्यटन: कुपिण्डे तालको आफ्नै ब्रान्डिङ र सांस्कृतिक संरक्षण
पर्यटन प्रवर्द्धनका सन्दर्भमा वलीले कुपिण्डे ताललाई 'मिनी रारा' भन्नुको सट्टा यसको आफ्नै विशिष्ट पहिचानसहित ब्रान्डिङ गर्ने योजना अघि सारेका छन्। ऐतिहासिक खैराव मन्दिरको बाँकी संरचना निर्माणका लागि पुरातत्व विभागसँग समन्वय गर्ने र बलि नचढाउने शक्तिपीठका रूपमा परिचित छत्रेश्वरी मन्दिरलाई प्रमुख धार्मिक पर्यटकीय केन्द्र बनाउने उनको एजेन्डा छ। साथै, सल्यानको मौलिक संस्कृति जोगाउन बृहत् सांस्कृतिक संग्रहालय निर्माण गर्ने र सोराठी, ठाडो, लहरे जस्ता रैथाने नाचलाई राष्ट्रियस्तरमा पुर्याउने उनले उल्लेख गरेका छन्।
कृषि, रोजगार र वातावरणलाई प्राथमिकता
कृषि र उद्योगको विकासका लागि बलीले आलु र कोदो जस्ता स्थानीय उत्पादनमा आधारित उद्योग तथा कोल्ड स्टोर स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। उनले 'एक घर एक वृक्षरोपण' अभियान, शारदा नदी संरक्षण र जलस्रोत व्यवस्थापनमार्फत वातावरण जोगाउने योजना अघि सारेका छन्। शिक्षित बेरोजगार युवाहरूलाई सीप र रोजगारीसँग जोड्न विशेष कार्यक्रम ल्याउने तथा सल्यानमा लगानी भित्र्याउन “सल्यान लगानी सम्मेलन” र “सल्यान एक्स्पो” आयोजना गर्ने उनको चुनावी रणनीति रहेको छ।
'ब्युटिफाई सल्यान' र डिजिटल सशक्तीकरण
जिल्लालाई सफा र सुन्दर बनाउन उनले “Beautify Salyan” अभियान सञ्चालन गर्ने र स्थानीय उत्पादनलाई “उपहार कल्चर” का रूपमा विकास गर्ने बताएका छन्। डिजिटल सशक्तीकरण, शैक्षिक कोषको स्थापना, र बौद्धिक जनशक्तिलाई एउटै मञ्चमा जोड्ने उनको प्रतिबद्धतामा उल्लेख छ। वाणिज्यशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका ३९ वर्षीय बलीले आफू कुनै चमत्कार गर्ने दाबी नगरी इमानदार नीति निर्माण र सहजीकरणमार्फत सल्यानको मुहार फेर्न लागिपर्ने बताएका छन्।

