अध्यक्ष लिङदेनको फेक पोस्ट बनाउनेविरुद्ध राप्रपाले दियो साइबर ब्यूरोमा उजुरी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङदेनको भनाइ भन्दै फेक पोस्ट सेयर गर्नेहरुविरुद्ध प्रहरी गुहारेको छ । पार्टीका महामन्त्री राजेन्द्र गुरुङले भ्रम छर्नेमाथि कारवाही माग गर्दै साइबर ब्यूरोमा उजुरी दिएका हुन् ।
लिङदेन र गाईको फोटो प्रयोग गरेर ‘अब दलितलाई मन्दिर छिर्न दिनु हुँदैन- राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन’ लेखी फोटोसमेत डिजाइन गरेर सामाजिक सञ्जालमा सेयर गरिएको थियो । उक्त पोस्टलाई ‘नेपाल मधेस’ र ‘दलित भ्वाइसेस’ नामका फेसबुक पेजका साथै नन्दु बिसी तथा लोकेन्द्र बिसीको फेसबुकबाट फैलाइएको उजुरीमा उल्लेख छ ।
गुरुङले राप्रपाविरुद्ध भ्रम सिर्जना गर्ने, जातीय सद्भावमा प्रतिकुल असर पार्ने र द्वैष फैलाउने कार्यगरेिकाले निजहरुलाई प्रचलित साइबर कानून बमोजिम आवश्यक कारवाही गर्न अनुरोध गरेका छन् । उनले आवश्यक प्रमाणहरु पनि उजुरीसँगै पेश गरेका छन् ।