मोरङ र सुनसरीमा लागूऔषधसहित ६ जना पक्राउ
विराटनगर — मोरङको विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ३० मिलिग्रामसहित दुई जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–३ मंगलबारे बस्ने २२ वर्षीय अमित धिमाल र २७ वर्षीय रबिन लिम्बु रहेका छन्। इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९८ प ७२१३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो।
उता, सुनसरीको धरान उपमहानगरपालिका–९ बगैँचा लाइनबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३ सय ६० ट्याब्लेटसहित चार जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१९ बस्ने २८ वर्षीय विकास बुढाथोकी, ४१ वर्षीय हेमन्त लामा तथा कोशी गाउँपालिका–५ कुमयाही बस्ने दुई जना १८ वर्षीय किशोर रहेका छन्। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।