गण्डकीमा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि ७ हजार १४० प्रहरी परिचालन
पोखरा — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका ११ वटै जिल्लामा सात हजार १४० प्रहरी परिचालन गरिने भएको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा एक हजार तीन, मनाङमा १६३, लमजुङमा ६०६, कास्कीमा ९५७, तनहुँमा ८३८, स्याङ्जामा ९४०, नवलपुरमा ८१८, मुस्ताङमा २०२, म्याग्दीमा ४११, बागलुङमा ६५८ र पर्वतमा ४३९ जना प्रहरी खटाइनेछन्।
प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कार्कीका अनुसार प्रदेशभर जम्मा १४ हजार १२ जना निर्वाचन सुरक्षाकर्मी परिचालन गरिनेछ।
१८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता रहेका छन्। प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता कास्की जिल्लामा तीन लाख आठ हजार ५७२ छन् भने सबैभन्दा कम मनाङमा सात हजार मात्र मतदाता छन्।
स्याङ्जामा दुई लाख ४८ हजार ८१६, तनहुँमा दुई लाख ५४ हजार ३९७, नवलपुरमा दुई लाख ६८ हजार ५२६, गोरखामा दुई लाख २९ हजार ५८ र बागलुङमा एक लाख ९३ हजार १८१ मतदाता रहेका छन्। त्यसैगरी लमजुङमा एक लाख ३७ हजार १२४, पर्वतमा एक लाख २५ हजार ४६६, म्याग्दीमा ८६ हजार ३९७ र मुस्ताङमा ११ हजार ४३८ मतदाता छन्।
प्रदेशका ११ वटै जिल्लामा एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र कायम गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।