डा. बाबुरामको पिताको निधनप्रति प्रलोपाद्वारा दु:ख व्यक्त
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पूर्वप्रधानमन्त्री एवं पार्टीका अभिभावक डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको निधनले पार्टी र परिवारलाई मर्माहत बनाएको जनाएको छ ।
प्रलोपा अध्यक्ष परिषद् सदस्य सुदन किरातीले एक शोक वक्तव्य जारी गर्दै एक व्यक्तिले जीवनका ९ दशकभन्दा बढी पार गरिरहँदा अर्को सिंगो पुस्ताको लागि एक अनुभव, संस्कार र मार्गदर्शनको स्रोत बन्ने उल्लेख गरेका छन् ।
‘कुनै परिवार, समाज र सन्तानको सफलतामा एक अभिभावकको मौन योगदान कति गहिरो हुन्छ भन्ने उदाहरण बुवा भोज प्रसाद भट्टराईको जीवनले प्रस्तुत गरेको छ । बुवा भोज प्रसाद भट्टराई भौतिक रूपमा नरहे पनि उहाँलाई प्रेरणाका रूपमा समाजले संधैँ सम्झी रहनेछ’, प्रलोपाले भनेको छ । दिवंगत पिताप्रति श्रद्धाञ्जलीसहित पार्टीले शोक सन्तप्त परिवारजनमा समवेदनमा जनाएको छ ।