प्रतिनिधिसभा निर्वाचन : जुलुस र आमसभा सभ्य रुपमा गर्नुपर्ने
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै Election Commission Nepalले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला सभ्य र अनुशासित तरिकाले गर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ।
आयोगले आज जारी गरेको ६४ बुँदे निर्देशनमा कसैको घर वरपर गई निज वा परिवारका सदस्यविरुद्ध विरोध प्रदर्शन गर्न नपाइने उल्लेख गरिएको छ। मतदान हुने दिन मतदान सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य सम्पन्न नभएसम्म मतदान केन्द्र र आसपासका क्षेत्रमा साउण्ड सिस्टम बजाउने, बाजा बजाउने, नाचगान गर्ने, सार्वजनिक भोज आयोजना गर्ने, जुलुस वा सभा गर्ने, होहल्ला गर्ने वा शान्ति भंग गर्ने कुनै पनि गतिविधि गर्न नपाइने स्पष्ट गरिएको छ।
आयोगका प्रवक्ता Narayan Prasad Bhattaraiका अनुसार स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा जुलुस, आमसभा वा भेला गर्न पाइने छैन। यस्ता कार्यक्रम गर्नुअघि कम्तीमा २४ घण्टा पहिले मिति, समय, मार्ग र स्थानबारे स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।
कुनै दल वा उम्मेदवारले आयोजना गरेको कार्यक्रम बिथोल्न नपाइने, एकै समयमा एउटै स्थान वा मार्गमा एकभन्दा बढी दलले कार्यक्रम गर्न नपाइने पनि निर्देशनमा उल्लेख छ। निषेधित सामग्री प्रयोग गर्न नपाइने तथा घरधनीको अनुमति बिना निजी वा सार्वजनिक स्थानमा झण्डा, चुनाव चिह्न वा प्रचार सामग्री राख्न नहुने आयोगले जनाएको छ।
त्यस्तै, विभिन्न क्लब, सामाजिक तथा धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था वा आश्रमलाई नगद वा जिन्सी वितरण, अनुदान, चन्दा वा पुरस्कार घोषणा गर्न रोक लगाइएको छ। प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न पनि नपाइने व्यवस्था गरिएको छ।
उम्मेदवार वा दलको कार्यालयबाहेक अन्य स्थानमा डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य वा श्रव्यदृश्य सामग्री प्रयोग गर्न नपाइने आयोगको निर्देशन छ। अनलाइन वेबपेज, टेलिभिजन स्क्रोलिङ, सपिङ मल डिस्प्ले, कल सेन्टर, एटीएम सन्देश वा सडक नाटकमार्फत प्रचार गर्न समेत रोक लगाइएको छ।
भित्ते लेखन, सवारी साधनमार्फत र्याली आयोजना, तथा ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिको भावना वा प्रतिष्ठामा आँच पुग्ने किसिमको प्रचारप्रसार नगर्न आयोगले सबै दल र उम्मेदवारलाई सचेत गराएको छ।