सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता
काबुल/जेनेभा, — यस वर्ष मात्रै पाकिस्तान र इरानबाट करिब एक लाख ५० हजार अफगानी आप्रवासी स्वदेश फर्किएका छन्। फर्कनेको बढ्दो संख्या र तीव्र गतिले अफगानिस्तानलाई थप मानवीय तथा आर्थिक संकटतर्फ धकेलेको United Nations High Commissioner for Refugees (यूएनएचसीआर) ले जनाएको छ।
अफगानिस्तानका लागि यूएनएचसीआरका प्रतिनिधि अराफत जमालले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै सन् २०२५ को सुरुआतदेखि नै उच्च दरमा आप्रवासी फर्किरहेको बताए। उनका अनुसार सन् २०२५ मा मात्र २९ लाख व्यक्ति अफगानिस्तान फर्किसकेका छन् भने सन् २०२३ अक्टोबरदेखि सुरु भएको पछिल्लो फिर्ता प्रक्रियायता कुल ५४ लाख अफगानी स्वदेश फर्किएका छन्।
“यो वर्ष अहिलेसम्म करिब एक लाख ५० हजार अफगानी इरान र पाकिस्तानबाट फर्किएका छन्,” जमालले भने, “पहिलेदेखि नै उच्च रहेको फिर्तीको दर जाडोको कठोरता, चिसो तापक्रम र भारी हिमपातका कारण अझ चिन्ताजनक बनेको छ।”
दशकौँदेखि राजनीतिक अस्थिरता र आर्थिक संकटका कारण लाखौँ अफगानीले पाकिस्तान र इरानमा शरण लिएका थिए। तर पछिल्ला वर्षहरूमा ती देशहरूले निर्वासन प्रक्रिया तीव्र बनाउँदै आएका छन्, जसका कारण ठूलो सङ्ख्यामा आप्रवासीहरू बाध्य भएर स्वदेश फर्किरहेका छन्।
यूएनएचसीआरका अनुसार फर्केकामध्ये धेरै परिवारसँग नागरिकता प्रमाणित गर्ने कागजात छैन। सर्वेक्षणअनुसार ९० प्रतिशतभन्दा बढी परिवार दैनिक पाँच अमेरिकी डलरभन्दा कम आम्दानीमा जीवनयापन गरिरहेका छन्। कमजोर अर्थतन्त्र, बढ्दो बेरोजगारी र बारम्बारका प्राकृतिक प्रकोपले उनीहरूको पुनःस्थापनालाई चुनौतीपूर्ण बनाएको छ।
“यी फिर्तीको गति र मात्राले विशेषगरी अफगानी महिला र बालिकाहरूलाई थप जोखिममा पारेको छ,” जमालले भने। “मानवीय र मानव अधिकारको अवस्था बिग्रँदै गएको सन्दर्भमा यो अवस्था अझ जटिल बन्दै गएको छ।”
यूएनएचसीआरले फर्केकाहरूको पुनःएकीकरण र सहयोगका लागि सन् २०२५ मा २१ करोड ६० लाख अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ। तर हालसम्म उक्त अपिलको केवल आठ प्रतिशत मात्र वित्तपोषण भएको छ।
“यो मानवीय सहयोगका लागि महत्वपूर्ण क्षण हो,” जमालले भने। “वर्षौँ वा दशकौँको निर्वासनपछि फर्किएका मानिसहरूलाई सम्मानजनक र दिगो जीवन सुनिश्चित गर्नु अन्तर्राष्ट्रिय समुदायको साझा दायित्व हो।”