जनार्दन ढकाल र रामवीर मानन्धर कांग्रेस प्रवेश
काठमाडौं, ७ फागुन — नेकपा एमाले रसुवाका पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार दलबलसहित ढकाल कांग्रेसमा प्रवेश गरेका हुन्।
कांग्रेसका सभापति गगन थापाले पार्टी सदस्यता प्रदान गर्दै ढकालसहितका नेताहरूलाई पार्टीमा स्वागत गरेका छन्। कांग्रेसका अनुसार प्रवेश गर्नेहरूमा जिल्ला, पालिका र वडा तहका पदाधिकारी, सचिवालय सदस्य तथा भ्रातृ संगठनका युवा प्रतिनिधिहरू समेत रहेका छन्।
यसैबीच, बिहीबारै एमालेका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धरले पनि एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए।
हालैका दिनहरूमा विभिन्न दलबाट नेता–कार्यकर्ताहरूको पार्टी प्रवेश र परित्यागको क्रम तीव्र बन्दै गएको छ। कांग्रेसले यसलाई संगठन सुदृढीकरणको अभियानका रूपमा लिएको जनाएको छ।