सल्यानमा अनेरास्ववियु (क्रान्तिकारी) को २२औँ जिल्ला सम्मेलन सम्पन्न, टेकबहादुर केसीको नेतृत्वमा नयाँ कार्यसमिति
सल्यान, २० माघ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) सल्यानको २२औँ जिल्ला सम्मेलन मंगलबार श्रीनगरमा भव्य रूपमा सम्पन्न भएको छ। हिजो मात्रै सिद्धकुमाखको निराजन माध्यमिक विद्यालयमा संगठन विस्तार गरेर अभियान सुरु गरेको क्रान्तिकारीले आज जिल्ला सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गर्दै आफ्नो साङ्गठनिक सुदृढीकरणलाई थप उचाइमा पुर्याएको हो। शारदा नगरपालिका-१, श्रीनगरमा सम्पन्न उक्त सम्मेलनले टेकबहादुर केसीको नेतृत्वमा १३ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
पार्टीका ४ नम्बर क्षेत्रीय ब्युरो फ्याक्सन इन्चार्ज तथा जिल्ला सेक्रेटरी हेमन्त वलीले विद्यार्थी संगठनको जिम्मेवारी सम्हाले लगत्तै सल्यानमा क्रान्तिकारी गतिविधिले निकै तीव्रता पाएको छ। जिम्मेवारी सम्हालेको २४ घण्टाभित्रै हिजो विद्यालय स्तरमा संगठन निर्माण र आज भव्य जिल्ला सम्मेलन सम्पन्न हुनुले वलीको नेतृत्व क्षमता र संगठनप्रतिको उच्च जागरुकतालाई प्रस्ट पारेको छ। जिल्लामा युवा नेतृत्वको आगमनसँगै संगठन विस्तारमा देखिएको यो 'रफ्तार' ले यतिबेला सल्यानको राजनीतिक वृत्तमा विशेष चर्चा पाएको छ।
सम्मेलनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै फ्याक्सन इन्चार्ज हेमन्त वलीले विद्यार्थी आन्दोलन नै परिवर्तनको मुख्य अग्रपङ्क्ति भएको बताउनुभयो। उहाँले संगठित र सचेत विद्यार्थी शक्ति निर्माण बिना समाज रूपान्तरण सम्भव नहुने धारणा राख्दै सल्यानमा भइरहेको यो तीव्र विस्तारले पार्टी र समग्र आन्दोलनलाई थप मजबुत बनाएको दाबी गर्नुभयो। वलीले इतिहासका हरेक राजनीतिक मोडमा विद्यार्थीहरूले नै क्रान्तिको जग हालेको उल्लेख गर्दै नयाँ पुस्तालाई वैचारिक रूपमा सुसज्जित हुन आह्वान गर्नुभयो।
त्यसैगरी विद्यार्थी संयोजक हेमन्त डाँगीले विद्यार्थीहरू देशको परिवर्तनका मेरुदण्ड भएको उल्लेख गर्दै वैचारिक स्पष्टता र संगठनात्मक अनुशासनमा जोड दिनुभयो। उहाँले वर्तमान राजनीतिक परिस्थितिमा क्रान्तिकारी विद्यार्थी आन्दोलनको आवश्यकता झनै बढेर गएको बताउँदै नयाँ कार्यसमितिलाई सक्रियताका साथ मैदानमा उत्रिन निर्देशन दिनुभयो। सम्मेलनमा करिब २५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो, जसले जिल्लाको संगठनात्मक समीक्षा गर्दै आगामी कार्यदिशामाथि ठोस छलफल गरेका थिए।
पछिल्ला दुई दिनमा भएका यी क्रमिक गतिविधिहरूले सल्यान जिल्लामा क्रान्तिकारी कम्युनिस्ट पार्टीको साङ्गठनिक आधार बलियो बन्दै गएको संकेत गरेका छन्। पार्टीले अघि सारेको निर्वाचन बहिष्कारको नीति र जनआधारित कार्यक्रमहरूलाई विद्यार्थी संगठनमार्फत गाउँ-गाउँसम्म लैजाने लक्ष्य राखिएको छ। विधार्थी नेताहरुले शैक्षिक संस्थाहरूमा संगठन विस्तार गर्ने र विद्यार्थीका हक-हितका लागि संघर्ष गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
