सल्यानमा घरदैलोमै मतदाता शिक्षा र नमुना मतदान अभियान तीव्र
सल्यान, फागुन १० । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै सल्यान जिल्लामा मतदाता शिक्षा अभियानलाई निकै तीव्रता दिइएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय तवरले सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालय सल्यानले नागरिकको घरदैलोमै पुगेर सचेतना फैलाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको हो।
जिल्लाका सबै ८३ वटै वडामा निर्वाचन शिक्षाका लागि एक-एक जना स्वयंसेवक परिचालन गरिएको छ। ती स्वयंसेवकहरूले प्रत्येक घर र टोलमा पुगेर मतदाताहरूलाई मतदान गर्ने सही प्रक्रिया, मतदाताको कानुनी अधिकार र मतपत्र भर्ने सही तरिकाबारे जानकारी दिइरहेका छन्। विशेषगरी मत बदर हुन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा डिजिटल सामग्री र नमुना मतपत्रको प्रयोग गरी व्यावहारिक प्रशिक्षण समेत प्रदान गरिएको छ।

मतदातालाई निर्वाचनको प्रत्यक्ष अनुभव दिलाउन सल्यान जिल्लाका नमुना मतदान कार्यक्रम समेत सञ्चालन गरिएको छ। जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा सञ्चालित उक्त कार्यक्रममा वास्तविक मतदान केन्द्रको जस्तै वातावरण सिर्जना गरी अभ्यास गरिएको थियो। यसबाट मतदान कक्षको व्यवस्थापन, मतको गोपनीयता र मतपत्रको सही प्रयोगका विषयमा मतदाताहरू प्रत्यक्ष रूपमा प्रशिक्षित भएका थिए।

निर्वाचन अधिकारीहरूले बदर मतको संख्या न्यूनीकरण गर्ने र मतदातामा आत्मविश्वास बढाउने उद्देश्यले यो अभियान प्रभावकारी सावित हुने विश्वास व्यक्त गरेका छन्। निर्वाचन कार्यालयले सम्पूर्ण जिल्लाबासीलाई आफ्नो मताधिकारप्रति सचेत रहँदै जिम्मेवार रूपमा निर्वाचन प्रक्रियामा सहभागी हुन समेत विशेष अपिल गरेको छ।
गाउँगाउँमा सञ्चालित यस घरदैलो शिक्षा र नमुना मतदान कार्यक्रमले सल्यानमा निर्वाचनको माहोललाई थप उत्साहजनक बनाएको छ। निर्वाचनप्रति स्थानीयहरूको जागरूकता बढेसँगै यस पटकको मतदानमा नागरिकहरूको सक्रिय र अर्थपूर्ण सहभागिता रहने देखिएको छ।
