गगन थापाको घोषणा: पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने कांग्रेसको लक्ष्य
काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले आगामी पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने योजना पार्टीले बनाएको बताएका छन्।
बिहीबार कांग्रेसद्वारा सञ्चालित ‘मिसन रोजगारी’ कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै थापाले संविधानको मौलिक हकअनुसार रोजगारी सुनिश्चित गर्ने उद्देश्यसहित संकल्पपत्र तयार गरिएको जानकारी दिए।
उनका अनुसार कृषि, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधिलगायत विभिन्न क्षेत्रगत योजनामार्फत रोजगारी सृजना गरिनेछ। “पाँच हजार युवाहरूका लागि लक्षित कार्यक्रम बनाउनेछौँ, चाहे संसदमा होस् वा सरकारमा,” उनले भने।
थापाले युवाहरूका लागि डिजिटल स्वतन्त्रता र सृजनाको सम्मान गर्ने नीति कांग्रेससँग रहेको उल्लेख गर्दै युवामा रहेको कला, साहित्य र सृजनालाई बजारसँग जोड्न विशेष कार्यक्रम ल्याइने बताए।
उनले सीप र शिक्षालाई व्यवहारिक तथा प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिँदै भने, “युवाले पढेको शिक्षा र सिकेको सीप बजारमा काम लाग्ने हुनुपर्छ। दक्ष जनशक्ति तयार पार्न अध्ययनसँगै सीपलाई थप गतिशील बनाउनु आवश्यक छ।”
यसैगरी, उनले ब्रेन ड्रेनसँगै ब्रेन गेन को अवधारणाअनुसार विदेशिएका दक्ष नेपाली युवालाई स्वदेश फर्काएर संस्थागत रूपमा काम गर्ने वातावरण बनाउने योजना पनि तयार गरिएको बताए।
“विदेश पलायन भएका युवालाई नेपालमै अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्ने स्पष्ट योजना हामीसँग छ,” थापाले भने।