सर्लाहीमा गगन थापाको सम्बोधन: “मधेशमा कांग्रेस आगन्तुक होइन, मधेशकै अंग हो”
सर्लाही, फागुन ३ — नेपाली कांग्रेसका सभापति गगन थापाले आफू चुनाव लड्न मधेश झर्दा सुरुवातमा आगन्तुकजस्तो देखिए पनि अहिले मधेशी परिवारको अंग बन्ने क्रम सुरु भइसकेको बताएका छन्।
शनिबार सर्लाही–४ रामनगरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ संस्कृतिसँग आफू घुलमिल हुँदै गएको उल्लेख गरे। “म यहाँ आउँदा आगन्तुकजस्तो भएर आएको थिएँ। गाउँ नयाँ, ठाउँ नयाँ, धेरै कुरा नयाँ—पहिरन नयाँ, खाना नयाँ। तर यो मेरो र म यो परिवारको अंग बन्ने क्रम सुरु भइसक्यो, किनकि म त्यही नाता जोड्न आएको हुँ,” उनले भने।
थापाले आफूलाई निर्वाचन जित्नका लागि काठमाडौंबाट सर्लाही आउनै नपर्ने अवस्था रहेको दोहोर्याए। “म सभापति भइसकेपछि त्यहाँ अनुकूलता नै अनुकूलता थिए। तर म यहाँ केही नयाँ सोच लिएर आएको हुँ,” उनले भने। कांग्रेसको सभापति भएपछि मधेशबाटै निर्वाचित भएर आउनुपर्ने आवश्यकता महसुस गरेकाले आफू मधेश झरेको उनको भनाइ थियो।
इतिहास स्मरण गर्दै थापाले बिपी कोइरालाको उदाहरण प्रस्तुत गरे। उनले २०३६ सालको जनमत संग्रहपछाडि राजाले गठन गरेको संशोधन समितिलाई सुझाव दिने निर्णय गर्दा कोइरालाले मधेशमा रहेका नागरिकलाई नागरिकता दिनुपर्ने विषय पहिलो बुँदामै समावेश गरेको बताए।
“त्यसैले मधेशमा कांग्रेस आगन्तुक होइन, कांग्रेस मधेशकै अंग हो। कांग्रेसको जरै यहीँ छ,” थापाले भने। कांग्रेस मधेशमा मजबुत रूपमा उभिनुपर्छ भन्ने उद्देश्यसहित आफू सर्लाहीबाट उम्मेदवार बनेको उनले स्पष्ट पारे।