फागुन २१ नजिकिँदै: निर्वाचन आचारसंहिता उल्लङ्घनका १,०७६ उजुरी, ९९% फर्स्योट
फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा अब मतदान हुन केवल पाँच दिन बाँकी रहेको छ। निर्वाचनको तयारी अन्तिम चरणमा पुगिरहेको बेला आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीको संख्या पनि उल्लेख्य देखिएको छ।
निर्वाचन आयोगका अनुसार जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष हालसम्म कूल १ हजार ७६ उजुरी दर्ता भएका छन्। तीमध्ये १ हजार ६१ अर्थात् ९९ प्रतिशत उजुरीको फर्स्योट भइसकेको आयोगले जनाएको छ।
प्रदेशगत विवरण हेर्दा सबैभन्दा धेरै उजुरी लुम्बिनी प्रदेशमा २४४ दर्ता भएका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन्।
उजुरीको प्रकृति अनुसार ९७ उजुरी लिखित रूपमा प्राप्त भएका छन् भने ९७९ उजुरी टेलिफोन, एसएमएस तथा अन्य माध्यमबाट दर्ता भएका थिए। प्राप्त उजुरीमध्ये तोकिएको मापदण्डभन्दा ठूला तुल, ब्यानर र झण्डा प्रयोग गरिएको विषय सबैभन्दा बढी देखिएको छ।
यसका साथै सामाजिक सञ्जालको दुरुपयोग, डिजे तथा माइक प्रयोग गरी ध्वनि प्रदूषण गरेको, शिक्षक–कर्मचारी तथा स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा संलग्न भएको, सार्वजनिक स्थल र सवारीसाधनमा झण्डा टाँगिएको तथा अनुमति नलिएका सवारीसाधन प्रयोग गरिएको जस्ता विषयमा पनि उजुरी परेका छन्।
निर्वाचन नजिकिँदै जाँदा आचारसंहिताको कडाइका साथ पालना गर्न आयोगले सबै राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई पुनः सचेत गराएको छ।