बौद्धबाट गरगहना चोरीमा संलग्न भएको आरोपमा एक जना पक्राउ
काठमाडौँको बौद्ध टुसालस्थित एउटा घरबाट १ करोड रुपैयाँ भन्दा बढीको सुन चोरीमा संलग्नलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । स्थानीय रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्ने प्रेम थारु पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार थारु नेपालगञ्जका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।
काठमाडौँका एसपी पवन भट्टराईका अनुसार थारुको खुट्टामा गोली लागेको छ र ट्रमा सेन्टरमा उपचार जारी छ । एसपी भट्टराईले भने, ‘बौद्धमा चोरी भएको घटनामा समातिएको हो, यसअघि दिउँसोको समयमा भोटेबहाल, कालिमाटीमा पनि चोरी भएका घटनामा प्रहरीको निगरानी बढिरहेको थियो ।’ भट्टराई काअनुसार, थारु २०७९ मा पनि चोरीमा पक्राउ परेर कारागारबाट निस्केका व्यक्ति हुन् । उनको दाहिने पिडुलामा गोली लागेको छ ।
मंगलबार दिउँसो लामाको घरबाट थारुले ३० तोला सुन, चाँदीका गहना र सिमाला सहित १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सामान चोरेको प्रहरीको भनाइ छ ।