हावादारी वाचा होइन, सम्भव कामको आधारमा निर्णय गर्नुहोस्: विश्वप्रकाश शर्मा
लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लमजुङको विकासका लागि यथार्थपरक र कार्यान्वयनयोग्य एजेन्डा मात्र अघि सार्नुपर्नेमा जोड दिनुभएको छ। लमजुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेताहरूले हावादारी वाचा गरेर जनतालाई भ्रममा पार्न नहुने बताउनुभयो।
उपसभापति शर्माले नेपाली कांग्रेस सम्भव हुने कामका स्पष्ट प्रतिबद्धता लिएर मतदातामाझ आएको दाबी गर्नुभयो। उहाँले लमजुङको चौतर्फी विकासका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै अबको राजनीति विकास र सुशासनमा केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो।
सम्बोधनका क्रममा शर्माले लमजुङबाट गमप्रसाद गुरुङ विजयी भएमा जिल्लाका प्राथमिकतामा रहेका पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रलाई केन्द्र सरकारसँग प्रत्यक्ष समन्वय गरेर अगाडि बढाइने प्रतिबद्धता जनाउनुभयो।
उहाँले जिल्लाको आवश्यकता र केन्द्रको योजनाबीच बलियो तादात्म्य मिलाउने योजना सुनाउनुभयो।
"लमजुङको मुद्दा बोकेर काठमाडौँका ढोका ढकढक्याउनु पर्ने अवस्था अब अन्त्य हुनुपर्छ," उपसभापति शर्माले भन्नुभयो, "जिल्लाको विकासको सवालमा सिधै नीति निर्माण तहमा पहुँच पुग्ने वातावरण बनाउन हामी प्रतिबद्ध छौँ।" उहाँले स्थानीय समस्याको समाधान स्थानीय स्तरमै र नीतिगत समस्याको समाधान केन्द्रबाट हुने गरी संयन्त्र बनाइने बताउनुभयो।
पूर्वाधार विकासका सन्दर्भमा बोल्दै शर्माले लमजुङका ग्रामीण सडकको स्तरोन्नति, खानेपानी विस्तार, विद्युत् आपूर्तिमा सुधार र स्वास्थ्य चौकीहरूको सुदृढीकरणलाई पहिलो प्राथमिकतामा राखिने जानकारी दिनुभयो। उहाँले आधारभूत आवश्यकताको परिपूर्ति नै समृद्धिको पहिलो खुड्किलो भएको उल्लेख गर्नुभयो।
कृषि र रोजगारीका विषयमा चर्चा गर्दै उहाँले स्थानीय उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन र साना उद्यममार्फत युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने ठोस योजना अघि सारिएको बताउनुभयो। युवा पलायन रोक्नका लागि स्थानीय स्तरमै अवसरको सिर्जना गर्नुपर्नेमा उहाँको जोड थियो। "केही काम पक्कै भएका छन्, तर अझ धेरै गर्न बाँकी छ," उपलब्धिलाई स्वीकार गर्दै शर्माले भन्नुभयो, "समाजमा निराशा फैलाएर होइन, भएका उपलब्धिलाई संस्थागत गर्दै बाँकी काम पूरा गर्ने संकल्पका साथ हामी अघि बढ्नुपर्छ।" उहाँले सकारात्मक सोचका साथ विकासमा जुट्न सबैलाई आह्वान गर्नुभयो।
राजनीतिक सुधारका बारेमा बोल्दै शर्माले पार्टीभित्र र राज्य संयन्त्रमा देखिएको भागबण्डा संस्कृतिको अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले विश्वविद्यालय, संवैधानिक निकाय र राजदूत नियुक्ति जस्ता महत्त्वपूर्ण क्षेत्रमा क्षमता र योग्यता (मेरिट) का आधारमा चयन गर्ने प्रणाली विकास गरिने बताउनुभयो।

उम्मेदवार चयन प्रक्रियामा विगतमा केही कमजोरी भएको स्वीकार्दै यसपटक कांग्रेसले ठूलो संख्यामा नयाँ अनुहार र महिलालाई अवसर दिएको दाबी उहाँले गर्नुभयो। यसले राजनीतिमा नयाँ ऊर्जा र समावेशिता थपेको उहाँको तर्क थियो।
आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका क्रियाशील सदस्यहरूबीच प्रत्यक्ष मतदानमार्फत उम्मेदवार चयन गर्ने पद्धति लागू गरिने जानकारी समेत उहाँले दिनुभयो। यसले पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो हुने र वास्तविक जनअनुमोदित व्यक्तिले टिकट पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।
निर्वाचन प्रचार अभियानको पहिलो दिन लमजुङ
पुग्नुभएका शर्माले केन्द्र र जिल्लाबीचको समन्वयलाई थप सुदृढ बनाउने आश्वासन दिनुभयो। सडक सञ्जाल विस्तार, कृषि आधुनिकीकरण र शैक्षिक संस्थाको स्तरोन्नतिलाई दीर्घकालीन योजनाका रूपमा अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो। कार्यक्रमको अन्त्यमा मतदाताहरूसँग भावुक अपिल गर्दै शर्माले भन्नुभयो, "असम्भव वाचा गर्नेलाई होइन, सम्भव काम गर्नेलाई रोज्नुहोस्। लमजुङको समृद्धिका लागि सही नेतृत्व छान्ने समय आएको छ।" हाल लमजुङमा चुनावी बहस विकास र सुशासनकै वरिपरि केन्द्रित देखिएको छ।
