एमाले सिरहाका १२ नेता-कार्यकर्ताले सामूहिक रुपमा पार्टी त्यागे
जनकपुरधाम।नेकपा (एमाले) सिरहाका विभिन्न तहका नेता तथा कार्यकर्ताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्। बुधबार गोलबजार नगरपालिकामा आयोजित कार्यक्रममा उनीहरूले पार्टीसँगको सम्पूर्ण राजनीतिक आबद्धता अन्त्य भएको घोषणा गरेका हुन्।
राजीनामा दिएका नेताहरूले पार्टी नेतृत्वमा स्वेच्छाचारी प्रवृत्ति हाबी भएको र निर्णय प्रक्रिया सीमित व्यक्तिको नियन्त्रणमा केन्द्रित भएको आरोप लगाएका छन्। ‘जनताको नाममा राजनीति गर्ने भनिए पनि व्यवहारमा केही व्यक्तिको स्वार्थ हाबी भएको अवस्था हामीलाई स्वीकार्य हुन सकेन,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा संगठनभित्रै रहेर सुधारको प्रयास गर्दा पनि नेतृत्वले त्यसलाई गम्भीरतापूर्वक नलिएको गुनासो गरिएको छ। इमानदार कार्यकर्तालाई पन्छाउने, आलोचनात्मक आवाज दबाउने र फरक मतप्रति असहिष्णुता देखाउने प्रवृत्ति बढ्दै गएको उनीहरूको आरोप छ।
राजीनामा दिने नेताहरूमा प्रदेश कमिटी सदस्य पुष्पलाल पाख्रिन, पूर्व जिल्ला कमिटी सदस्य माधवबहादुर बुढाथोकी, बुद्धिजीवी तथा शिक्षक जनसंगठनका प्रदेश सदस्य भीमबहादुर थापा रहेका छन्।
त्यसैगरी जिल्ला कमिटीस्तरबाट धनराज यादव (पूर्व जिल्ला कमिटी सदस्य), तुलसीप्रसाद उपाध्याय, प्रमोदकुमार लामा, तेजकुमार लामा (पूर्व जिल्ला कमिटी सदस्य), राजकरण साह (पूर्व वडा कमिटी अध्यक्ष), नगर कमिटी सचिवालय सदस्य रन्जितकुमार लामा तथा नगर सदस्य ताराबहादुर तामाङ, किरणकुमार स्याङ्वा र राजकुमार महतोले पनि राजीनामा दिएका छन्।
यस सामूहिक राजीनामाले नेकपा (एमाले) सिरहाको आन्तरिक राजनीतिमा थप तरंग सिर्जना गरेको छ।