निर्वाचन सुरक्षा सुदृढ बनाउन नेपाल–भारत सीमा सुरक्षा बलको समन्वय बैठक सम्पन्न
सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बलबीच बाहिनीस्तर (डिआइजी तह) को समकक्षी समन्वायात्मक बैठक भारतको उत्तराखण्डस्थित चम्पावतमा सम्पन्न भएको छ। बिहीबार सम्पन्न बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा हुनसक्ने अवैध घुसपैठ, चोरी निकासी, लागूऔषध ओसारपसार तथा निर्वाचनविरोधी गतिविधि नियन्त्रणबारे छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ।
बैठकमा निर्वाचनका समयमा मौन अवधिभर सीमानाका बन्दको प्रभावकारिता, संयुक्त तथा समानान्तर सीमा गस्ती सशक्त बनाउने, सूचना आदानप्रदान बढाउने र सम्भावित सुरक्षा चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन्। साथै, मानव बेचबिखन, जाली नोट कारोबार, हतियार तथा नगद तस्करी नियन्त्रणका लागि घनिष्ठ सहकार्य गर्ने निर्णय गरिएको छ।
बैठकमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो। भारतीय पक्षबाट सेक्टर हेडक्वाटर अल्मोरा र पिलिभितका डिआइजी सुधान्सु नौटियाल र अनिलकुमार शर्मालगायत सम्बन्धित रेजिमेन्ट प्रमुखहरूको उपस्थिति रहेको थियो।