विप्लव माओवादीको सल्यानको चुनावी सभा स्थगित, अन्य गतिविधि भने सुचारु रहने
सल्यान । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) को उपस्थितिमा भोलि फागुन १० गते वागचौर नगरपालिका वडा नं. २, थारमारे बजारमा आयोजना गर्ने तय गरिएको चुनावी सभा केही समयका लागि स्थगित गरिएको छ।
बदलिँदो राष्ट्रिय राजनीतिक विषम परिस्थितिका कारण महासचिव विप्लवलाई आकस्मिक रूपमा काठमाडौँ जानुपर्ने भएकाले कार्यक्रम स्थगन गरिएको पार्टीले जनाएको छ। स्थगित कार्यक्रमको नयाँ मिति भने छिट्टै सार्वजनिक गरिने जानकारी दिइएको छ।
पार्टीका जिल्ला इन्चार्ज अनिल सी र जिल्ला सेक्रेटरी भिमसेन सी ले शनिबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सम्बोधन गर्ने भनिएको उक्त विशेष कार्यक्रम तत्कालका लागि सारिएको जानकारी दिनुभएको हो। विज्ञप्तिमा वर्तमान जटिल राजनीतिक अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय लिनुपरेको उल्लेख गरिएको छ।
जिल्लाबासीमा समझदारीको अपिल
पार्टीले यो आकस्मिक स्थगनबाट पर्न गएको असुविधाप्रति सम्पूर्ण जिल्लाबासीहरूसँग समझदारी र सहयोगका लागि सादर अनुरोध गरेको छ। महासचिव विप्लव केही समयपछि पुनः सल्यान आउने कार्यक्रम तय गरिने र सोबारे नयाँ मिति छिट्टै सार्वजनिक गरिने समेत जिल्ला नेतृत्वले जनाएको छ।
चुनावी अभियान तदारुकताका साथ अघि बढ्ने
सभा स्थगित भए पनि जिल्लामा पार्टीको निर्वाचन लक्षित अन्य कार्यहरू भने नरोकिने विज्ञप्तिमा स्पष्ट पारिएको छ। निर्वाचन सम्बन्धी अन्य संगठनात्मक कामहरू, जनभेटघाट र प्रचार-प्रसारका गतिविधिहरू तदारुकताका साथ निरन्तर चलिरहने व्यहोरा सबैमा जानकारी गराइएको छ।
