आचारसंहिता उल्लङ्घनबारे ६६ उजुरी, ३२ को जवाफ प्राप्त
काठमाडौं — केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ वटा उजुरी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। ती उजुरीका आधारमा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग स्पष्टीकरण सोधिएकोमा ३२ वटाको जवाफ प्राप्त भइसकेको आयोगले जानकारी दिएको छ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार दर्ता भएका सञ्चारमाध्यम तथा त्यहाँ आबद्ध पत्रकारका हकमा प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण र आवश्यक कारबाहीका लागि पत्राचार गरिएको छ। जिल्लास्तरमा पनि आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी प्राप्त भई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्राप्त ३२ वटा जवाफको अध्ययन भइरहेको जनाउँदै जोशीले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत र सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रहेको बताए।
जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषयमा तथा प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन अधिकृत तोकिएको छ।
छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ। जिल्लामा दर्ता भएका उजुरीमा स्थानीय तहबाटै स्पष्टीकरण माग गरी दोषी देखिएकामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको आयोगले स्पष्ट पारेको छ।