नेकपा संयोजक प्रचण्डले प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी गरे
काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ मा हुने निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी गरेका छन्। बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीवीसँगको बैठकमा उनले यस्तो जानकारी दिएका हुन्।
प्रचण्डले भने, “हाम्रो पोलिटिकल लाइन क्लियर छ। निष्पक्ष निर्वाचन हुने हो भने हाम्रो पक्षमा राम्रो परिणाम आउनेछ। पहिलाको भन्दा राम्रो हुने भन्दै हाम्रा कट्टर विरोधीहरूले समेत संकेत दिएका छन्।”
बैठकमा सहभागी नेता प्रमेश हमालका अनुसार, नेकपाले समानुपातिकतर्फ कम्तीमा २०–२५ लाख मत ल्याउने लक्ष्य राखेको छ। नेकपाले १२ वर्षपछि एक्लै चुनावमा होम्दै १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ। पार्टीले जित्ने सम्भावना भएका क्षेत्रहरूमा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेको छ।
सचिवालय बैठकमार्फत वास्तविक धरातलको सूक्ष्म समीक्षा गर्ने तयारी गरिएको छ।