डीभी प्रक्रियामा नक्कली कक्षा १२ प्रमाणपत्र प्रयोग, सात पक्राउ — अमेरिकी दूतावासको सूचनापछि खुलासा
काठमाडौँ । कक्षा १२ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र प्रयोग गरी अमेरिकी ‘डाइभर्सिटी भिसा’ (डीभी) प्रक्रियामा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् भने एक जना फरार रहेको नेपाल प्रहरीले जनाएको छ। काठमाण्डूस्थित अमेरिकी दूतावासको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार डीभी प्रक्रियाका क्रममा १२ कक्षाको नक्कली मार्कशीट पेस गरिएको विषय अमेरिकी दूतावासले ध्यानाकर्षण गराएपछि सम्बन्धित व्यक्तिहरूमाथि सोधपुछ गरिएको थियो। अनुसन्धानका क्रममा नक्कली कागजपत्र बनाउन सहयोग गरेको आरोपमा सात जनालाई पक्राउ गरिएको र एक जना भारततर्फ फरार भएको आशंका गरिएको छ।
नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयले दुई लाख ७५ हजार रुपैयाँ लिएर कक्षा १२ को नक्कली प्रमाणपत्र तयार पार्न सहयोग गरिएको उजुरी आएको जनाएको छ। पक्राउ परेकाहरूलाई अदालतले आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।
यसैबीच, काठमाण्डूस्थित अमेरिकी दूतावासले भिसा आवेदनका क्रममा नक्कली कागजपत्र पेस गर्नु गम्भीर अपराध हुने चेतावनी दिएको छ। दूतावासले यस्तो कार्यमा संलग्न भएमा भिसा अस्वीकृत हुनुका साथै भविष्यमा पनि अमेरिका प्रवेशमा रोक लाग्न सक्ने जनाएको छ।
नेपाल सरकारका गृह तथा परराष्ट्र मन्त्रालयले समेत भिसा आवेदन गर्दा सधैँ आधिकारिक र सत्य कागजात मात्र पेस गर्न आग्रह गरेका छन्। फर्जी कागजपत्र प्रयोग गरेमा कानुनअनुसार कडा कारबाही हुने र त्यसको असर अध्ययन, रोजगारी तथा विदेश भ्रमणमा समेत पर्न सक्ने चेतावनी दिइएको छ।
मुलुकी अपराध संहिता २०७४ अनुसार सरकारी वा सार्वजनिक कागजपत्र किर्ते गर्नेलाई सातदेखि १० वर्षसम्म कैद र जरिवानाको व्यवस्था रहेको छ। प्रहरीले यस्ता गतिविधिमा शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारेको छ।