रौतहट घटनाबारे प्रहरी- कारमा रास्वपा उम्मेदवार थिएनन्, चालकमाथि ज्यान मुद्दामा अनुसन्धान
२३ माघ, काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ मठिया टोलमा बिहीबार दिउँसो कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।
दिउँसो करिब २ बजेतिर बा १५ च ४२४४ नम्बरको सतो कारले बाटो क्रस गर्न खोजिरहेकी चार वर्षीया अल्फा खातुनलाई ठक्कर दिएको हो । सार्वजनिक भएको सीसीक्यामेरा फुटेजमा कारले बालिकालाई ठक्कर दिएर चक्काले किच्दै अगाडि बढेको देखिन्छ । केही अगाडि गएपछि कार रोकिएपछि स्थानीयले गम्भीर घाइते बालिकालाई उद्धार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी तथा प्रवक्ता विष्णु प्रदीप बस्यालका अनुसार घाइते बालिकालाई ठक्कर दिने सोही कारमा आमा र आफन्तसहित अस्पताल लगिएको थियो । उनलाई सुरुमा सिटी अस्पताल गौर र त्यसपछि प्रादेशिक अस्पताल गौर लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
बालिकाको अवस्था गम्भीर रहेको जानकारी पाएपछि कार चालक फरार भएको र पछि अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले परोहा नगरपालिका–३ का २७ वर्षीय शेख मुस्ताखलाई पक्राउ गरी सवारी ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार उक्त कारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्टिकर टाँसिएको थियो र अगाडिको नम्बर प्लेट नजिक बाँसको लट्ठी ठड्याइएको अवस्थामा भेटिएको थियो, जुन झण्डा राख्न प्रयोग गरिएको हुन सक्ने अनुमान गरिएको छ । अनुसन्धानका क्रममा उक्त कार रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिरको चुनावी प्रचारमा प्रयोग भइरहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
डीएसपी बस्यालका अनुसार दुर्घटनाको समयमा उम्मेदवार सगिर कारमा सवार थिएनन् । “चुनावी प्रचारमा कार प्रयोग भएको थियो, तर घटनाको बेला उम्मेदवार सगिर सवार हुनुहुन्न,” उनले बताए । सो समयमा चालक मुस्ताखले कार चलाइरहेका थिए ।
प्रहरीले शुक्रबार चालकलाई अदालत उपस्थित गराई म्याद थप गरेको छ । जिल्ला अदालत रौतहटले पहिलो पटक पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको डीएसपी बस्यालले जानकारी दिए । चालक लाइसेन्सबाहक रहेको पनि प्रहरीले जनाएको छ ।
ठक्कर दिने कार उम्मेदवार शेख सगिरको नाममा दर्ता रहेको र ब्लु–बुक समेत उनकै नाममा रहेको पाइएको छ । उनले चालकलाई कार चलाउन दिएका बेला दुर्घटना भएको हो ।
घटनापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिनका लागि पार्टी स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने तथा पीडित परिवारलाई न्याय दिलाउन आवश्यक पहल गर्ने उल्लेख गरिएको छ ।