कांग्रेस महामन्त्रीद्वारा विशेष महाधिवेशनको औपचारिक आह्वान
२३ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहिलोपटक औपचारिक रूपमा पार्टीको विशेष महाधिवेशन आह्वान गरेका छन्।
बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले पार्टी विधानको पालना गर्दै कांग्रेसलाई जीवन्त, सुदृढ र जनभावनाअनुकूल बनाउने उद्देश्यले विशेष केन्द्रीय महाधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन्।
वक्तव्यमा विधानको धारा १७ (२) बमोजिम २ हजार ४८८ जना अर्थात् ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरिसकेको उल्लेख छ। बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई मजबुत बनाउने र आवश्यक नीतिगत निर्णय लिन विशेष महाधिवेशन अपरिहार्य भएको उनीहरूको ठहर छ।
‘विशेष महाधिवेशनको मागसहित निवेदन पेस भएको तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्नु केन्द्रको जिम्मेवारी थियो र हो,’ वक्तव्यमा भनिएको छ, ‘केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुन्छ भन्ने हाम्रो अधिकतम प्रयास भए पनि त्यो सम्भव हुन सकेन।’
विधानले विशेष महाधिवेशन नबोलाउने अवस्थाको परिकल्पना नगरेको उल्लेख गर्दै उनीहरूले विधान बमोजिम कारणसहित माग गरिएको महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन ठहर गर्ने अधिकार कसैलाई नभएको बताएका छन्। बहुमत महाधिवेशन प्रतिनिधिबाट आएको माग बेवारिसे हुन नसक्ने र तोकिएको समयसीमाभित्र विशेष महाधिवेशन स्वतः क्रियाशील हुने उनीहरूको दाबी छ।
महामन्त्रीद्वयले पुस २७ र २८ गतेका लागि तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रूपमा बाध्यकारी भएको जनाएका छन्। विधान बमोजिम अनिवार्य रहेको विशेष महाधिवेशन नबोलाउनु विधान र राजनीतिक दलसम्बन्धी कानुनको विपरीत भएको भन्दै नेतृत्वमाथि प्रश्न पनि उठाएका छन्।
‘विधान र कानुन बमोजिम पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्नु केन्द्रको कर्तव्य हो,’ वक्तव्यमा भनिएको छ, ‘एक लोकतान्त्रिक पार्टीका जिम्मेवार पदाधिकारीको रूपमा यो हाम्रो वैधानिक र नैतिक दायित्व हो, जुन हामी पूरा गर्नेछौं।’
थापा र शर्माले पार्टी विधानको धारा ३(१२), धारा २७(१) तथा धारा १७(२) अनुसार मिति २०८२ पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।
‘विशेष महाधिवेशन बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि हो,’ उनीहरूले भनेका छन्, ‘पार्टीमा नयाँ ऊर्जा भर्न र जस्तोसुकै कठिन परिस्थितिमा पनि कांग्रेसलाई एकढिक्का राख्न हामी दृढ संकल्पित छौं।’