कुलमान घिसिङ भन्छन् रास्वपा एकता १२ दिनमै भत्किनु ठूलो पीडा भयो
काठमाडौँ, २६ पुस । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले रास्वपा सँगको सहमति १२ दिनमै भत्कनु आफूका लागि अत्यन्तै पीडादायी भएको बताएका छन्।
शनिबार उनले भने, “म आज अत्यन्तै मर्माहित भएको छु। यो अवस्था आउँछ भनेर लागेको थिएन। यो १२ दिन मेरो लागि ठूलो बिलखबन्दमा, कता जाने भन्ने नै अन्यौलमा भएको अवस्था थियो। अघि बढौं भने उहाँहरू अघि बढ्न नदिने, पछि जाऔं भने आम नेपाली र जेनजी भाइबहिनीहरूको सपनालाई पूरा गर्न पछि हट्न नमिल्ने स्थिति थियो।”
घिसिङले सहमति कार्यान्वयनमा रास्वपाले सहयोग नगरेको समेत बताए। उनले उज्यालो नेपाल पार्टीलाई कठिन परिस्थितिमा नेतृत्व गर्नुभएका अनुपकुमार उपाध्यायलाई धन्यवाद दिँदै, “विगत केही समय हाम्रो लागि अत्यन्तै पीडादायी भयो। १२ दिनमा धेरैपटक छलफल भए पनि सहमति कार्यान्वयन भएन,” भने।
उनले लेखित नभएका सहमतिका बुँदा पनि कार्यान्वयन गर्नुपर्ने अवस्थामा रहेकाले एकीकरण प्रक्रियामा छिटो निर्णय गर्नुपर्ने आवश्यक रहेको उल्लेख गरे।
घिसिङले अब उज्यालो नेपालले आफ्नो बाटो आफैं तय गर्दै अघि बढ्ने पनि स्पष्ट पारेका छन्।