राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज मनाइँदै
काठमाडौं, २ माघ – आज २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। काठमाडौंको खुलामञ्चमा मूल समारोह र भूकम्प सुरक्षा प्रदर्शनी आयोजना गरिएको छ।
आज दिउँसो २ः२४ बजे सञ्चार माध्यममा धुन बज्ने समय सबैले एक मिनेट भूकम्प सुरक्षा अभ्यासमा सहभागी भएर दिवस मनाउने कार्यक्रम छ।
यस दिवसको स्थापना विसं १९९० माघ २ गतेको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष गरिएको हो। उक्त भूकम्पले ८ हजार ८१९ जनाको मृत्यु र ८० हजार घर ध्वस्त गराएको थियो। घर, विद्यालय, देवालय, सार्वजनिक भवनसहित कुल २ लाख ७ हजार २४८ संरचना भत्केका थिए।
साथै, विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा ८ हजार ६७० जनाको ज्यान गयो र ७ लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो।
भूकम्पबारे चेतना फैलाउने र तयारी बढाउने उद्देश्यले राष्ट्रिय भूकम्प सुरक्षा दिवस हरेक वर्ष मनाइन्छ।