गोरखा–२ मा बाबुरामको तालमेल प्रस्ताव अस्वीकार
९ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार डा. बाबुराम भट्टराईले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसँग तालमेलको प्रस्ताव गरेका छन्। तर न्यौपानेले आफू चुनावी प्रतिस्पर्धाबाट पछि नहट्ने स्पष्ट पारेका छन्।
निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने प्रयासस्वरूप बाबुरामले काठमाडौं आएर नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी सहयोगको आग्रह गरेको स्रोतले जनाएको छ। बाबुरामले लेखनाथको उम्मेदवारी फिर्ता गराउन अनुरोध गरेको बताइए पनि प्रचण्डको प्रतिक्रिया सार्वजनिक भएको छैन।
तर गोरखा–२ मा चुनाव प्रचारमा सक्रिय लेखनाथ न्यौपानेले भने आफू निकै अगाडि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता नलिने बताएका छन्। उनले अवसर नपाएका उम्मेदवारप्रति मतदाताको समर्थन बढिरहेको अवस्थामा पछि हट्नु पार्टीका लागि हानिकारक हुने बताए।
गोरखा–२ मा बाबुराम र लेखनाथसहित कांग्रेसका प्रकाशचन्द्र दवाडी, एमालेका चक्रे मिलन र रास्वपाबाट कविन्द्र बुर्लाकोटी उम्मेदवार छन्।