अमेरिकी सुरक्षाकर्मीले ‘भेनेजुएला ग्याङ’माथि गोली प्रहार
अमेरिकाको ओरेगन राज्यस्थित पोर्टल्याण्डमा सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार घाइते हुनेहरूमा एक पुरुष र एक महिला रहेका छन्। उनीहरूलाई तत्कालै अस्पताल लगिएको पनि पछिल्लो अवस्था कस्तो छ भन्नेबारे विस्तृत जानकारी आउन बाँकी रहेको बीबीसीले जनाएको छ।
अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागका अनुसार यो घटना बिहीबार दिउँसोको समयमा भएको हो। सुरक्षाकर्मीहरूले भेनेजुएलाको एउटा आपराधिक समूह (ग्याङ) का सदस्यलाई शंका लागेर ट्राफिक चेकिङका लागि रोक्न खोजेका थिए। तर, ती व्यक्तिले आफ्नो कारले सुरक्षाकर्मीहरूलाई नै किच्ने प्रयास गरेपछि गोली चलाएको बताइएको छ।